काठमाडौं । अपांगता भएका व्यक्तिलाई सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा निःशुल्क उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न माग गर्दै सुरु भएको अनसनप्रति सरकारले वेवास्ता गरेको छ ।
गत वैशाख १९ गतेबाट आज २४ दिनसम्म अनसन बस्दा पनि सरकारले वास्ता नगरेको अनसनरत दीपक भण्डारीले बताउनु भयो । काठमाडौको शान्तिवाटिकामा भण्डारीसँगै प्रेम बुढाथोकी र रामवहादुर तामाङले रिले अनसन गरिरहनु भएको छ ।
महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको रोहवरमा आफू र मन्त्रालयबीच भएको सम्झौता एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै भण्डारीले सुरुमा तीन दिन आमरण अनसन बस्नु भएको थियो ।
गत चैत १४ गते भएको तीनबुँदे सहमतिमा सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवालाई उपयुक्त र दिगो ढाँचामा स्थानीय सरकारसँगको सहकार्यमा चरणबद्ध लागू गर्न आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गर्ने गरी तीन सदस्यीय समिति गठन भएको थियो ।
पहिलो चरणमा लागू गरिने भनिएको प्रस्तावित कार्यक्रमको म्यादसमेत गुज्रिसकेकाले दबाब दिन अनशन थालेको भण्डारीले बतानु भयो । कानुनमै सुनिश्चित गरिएका अपांगता भएका व्यक्तिहरूका अधिकार उपभोग गर्न अनसन बस्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुनु विडम्वना भएको अपाङ राष्ट्रिय महासंघकी केन्द्रीय सदस्य मिना भुसालको भनाई छ ।