काठमाडौं । डिजिटल मिडिया र अनलाइन टिभीका पत्रकारहरूको सुरक्षा र सृदृद्धिकरणका लागि तत्काल विषेश व्यवस्था गर्नु पर्ने एक अध्ययनले देखाएको छ । गत एक वर्षमा भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा प्रभावित पत्रकारमध्ये धेरैजसो डिजिटल तथा अनलाइन टिभीमा कार्यरत पत्रकारहरु रहेकाले उनीहरुले सुरक्षा र सृदृढिकरणका लागि विषेश व्यवस्थाको खाँचो औल्याइएको हो ।
फ्रिडम फोरमले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा ३० अनलाइन मिडियामा आवद्ध ३४ पत्रकारलाई धम्की आएको उल्लेख गरिएको छ । गत बर्ष कुल प्रभावित पत्रकारहरूमध्ये ३४ जना अनलाइन सञ्चारमाध्यममा कार्यरत थिए भने १६ टिभि, १३ छापा, दुई रेडियो र दुईजना स्वतन्त्र सञ्चारकर्मी थिए ।
नियामक निकाय प्रेस काउन्सिल नेपालले विभिन्न अनलाइन मिडियालाई अफवाह, अतिरंजित र अश्लील सामग्री प्रकाशित गरेका कारण देखाउँदै अनुसन्धान र कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो भने केहीलाई पत्रकार आचारसंहिता उल्लङ्घन र हिंसा भड्काउने सामग्री प्रकाशन गरेको आरोपमा पोर्टल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि पत्राचार गरेको थियो ।
अनलाइन सञ्चारमाध्यमको संख्या बढ्दै गए पनि तिनको दिगोपना सुनिश्चित नहुनु अर्को चिन्ताको विषय बनेको फोरमका कार्यकारी निर्देशक तथा बरिष्ठ पत्रकार तारानाथ दाहालको भनाई छ । नेपालमा ४ हजारभन्दा बढी अनलाइन समाचारमाध्यम सुचिकृत भएको प्रेस काउन्सिलको तथ्यांक छ ।
“बढ्दो डिजिटल विकाससँगै नेपाली सञ्चारकर्मीले नयाँ किसिमका चुनौतिको सामना गर्नुपरेको छ । यस परिवेशमा उनीहरूको पेशागत सुरक्षाका लागि विभिन्न तालिम तथा क्षमता अभिवृद्घि कार्यशाला अत्यावश्यक छन् । प्रेस स्वतन्त्रताको सम्बन्धमा नेपाली पत्रकारहरूले कृत्रिम बौद्घिकता एआईले तत्काल कुनै असर नगरेकोे बताएपनि एआई सहितको नविनतम प्राविधिक विकाससँगै पत्रकारहरूको क्षमता अभिवृद्धि अत्यावश्यक छ,” प्रतिवेदनले उल्लेख गरेको छ ।
अनलाइन माध्यममा फैलिने भ्रामक सूचनाबाट जोगिन र पत्रकारहरुलाई यस्ता सूचनाको जोखिमबाट जोगाउन डिजिटल पत्रकारिताको गहन अध्ययन, अनुसन्धान र मान्यताको बढ्दो आवश्यकतामाथि उत्तिकै महत्व दिइएको छ ।
फ्रिडम फोरमले सञ्चारगृह र पत्रकारिताको नियामक निकायमा सुदृढ तथ्यजाँच डेस्क-संयन्त्र स्थापनाका लागि पनि सिफारिस गरेको छ।
प्रतिवेदनअनुुसार प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बढोत्तरी भएको छ । अनुगमन प्रतिवेदनले प्रेस स्वतन्त्रता उल्लङ्घनका ६० घटनाहरूमा ८८ पत्रकारहरू प्रत्यक्ष प्रभावित भएको देखाएको छ ।
अघिल्लो वर्ष अर्थात् २०२३ मे ३ को प्रतिवेदनअनुसार नेपालमा ४० वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका थिए ।
यस वर्षका ६० उल्लङ्घनमध्ये आक्रमण/हातपातका २१ घटना, समाचार सङ्कलनमा अवरोध र तोडफोड सहित ७ घटना, दुव्र्यवहारका ८ घटना, २२ वटा धम्की/ज्यान मार्ने धम्की रहेका छन् । यस अवधिमा दुई सञ्चार माध्यममाथि आक्रमण भएको थियो भने एकमा तोडफोड । नौ सञ्चारकर्मीहरुलाई सामाजिक सञ्जालमार्फत धम्किपूर्ण सन्देश आएको थियो ।
यी घटनामध्ये सबैभन्दा धेरै घटना ९२४ वटा० देशको संघीय राजधानी काठमाडौँ रहेको बागमती प्रदेशमा र त्यसपछि मधेश प्रदेशमा १२ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका थिए । कोशी प्रदेशमा ११, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ३, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना फ्रिडम फोरमले रेकर्ड गर्यो । बागमती प्रदेशमा भएका घटनामा ४१ पुरुष, ७ महिला पत्रकार र २ सञ्चारगृह प्रभावित भएका थिए ।
अधिकांश घटनामा सुरक्षाकर्मीबाट ३५, राजनीतिक कार्यकर्ताबाट १४, सरकारी कर्मचारीबाट १३ र अपराधी÷गुण्डाबाट ७ पत्रकार प्रभावित भएका छन् । साथै, १९ जना सञ्चारकर्मी व्यवसायी, स्थानीय, ठेकेदार लगायतबाट प्रभावित भएका छन् ।
समग्रमा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धिस कानुन र नीति सुधारमा निष्क्रियतास पत्रकारितामा लोकप्रियतावादी राजनीतिको बढ्दो प्रभावस पत्रकार विरुद्धको अपराध सम्बन्धी दण्डहीनताप्रति उदासीनतास सञ्चारमाध्यमको आर्थिक अवस्थामा निरन्तर गिरावट र पत्रकारको पेशागत सुरक्षा जोखिममा पर्नु जस्ता कारणले गत वर्ष प्रेस स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण रह्यो ।
यो वर्ष पनि प्रेस तथा मिडिया सुधारका लागि कुनै कानुन तथा नीति निर्माण नहुनुलाई प्रतिवेदनमा गम्भीरतापूर्वक लिइएको छ ।