काठमाडौं। इजरायल र अमेरिकाबीचको सम्बन्ध चिसिएको छ। गाजाको रफाह सहरमा भएको आक्रमणका कारण दुई देशबीच तनाव बढेको हो।
यससँगै अमेरिकाले इजरायलमा पठाउँदै आएको हतियारको आपूर्ति पनि रोकेको छ। अमेरिकाले रफाहमा इजरायलको आक्रमणलाई रोक्न खोजिरहेको छ,भने इजरायलले रफाह विरुद्ध सैन्य कारबाही सुरु गरेको छ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले यदि हमासले सम्झौताअन्तर्गत इजरायली बन्धकलाई रिहा नगरे रफाहमा अझ भयानक आक्रमण गर्ने चेतावनी दिएका छन्।इजरायलले हमाससँगको युद्धविराम सम्झौतालाई पनि अस्वीकार गरेको छ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा अमेरिकाले इजरायललाई समर्थन गर्ने घोषणा गरेको थियो। तर, इजरायलले रफाहमा गरेको आक्रमणको अमेरिकाले विरोध गरिरहेको छ।