काठमाडौं। आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ।श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ।
श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।
ट्रेड युनियन एवं श्रमिक नेता प्रेमलकुमार खनालले मजदूरहरुले राज्यबाट सेवा सुविधा र अभिभावकत्व नपाएको गुनासो गर्नुभएको छ। मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो ।
सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन ग¥यो। प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । ट्रेड युनियन इन्टरनेश्नल पब्लिक सर्भिसेस एण्ड एलाइटका उपाध्यक्ष भोलानाथ पोखरेलले श्रमिकहरुको गणना र महत्वलाई राज्यले प्रत्याभूत गराउन नसकेको बताउनुभयो ।
उत्पादनमा प्रमुख भूमिका निर्वाह गर्ने श्रमिकको योगदानको सम्मान गर्ने र श्रमको उचित मूल्य दिनुपर्छ भनेर पैरवी गर्ने दिनको सम्झना गरिन्छ– मे १ लाई । उद्योगी र मजदुरका बीचको विभेद अन्त्य गरी मजदुरको पसिना र श्रमको सम्मान गर्ने दिनका रुपमा लिइने मजदुर दिवस अहिले विश्वभर मनाइन्छ ।
यद्यपि भने जस्तै मालिक र मजदुरका बीचको विभेदको खाडल पुरिएको छैन तथापि मजदुरहरुलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन भएको छ । नेपालको हकमा किसानले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा राज्यको ग्यारेन्टी र श्रमिकले काम र उचित ज्याला पाउने व्यवस्था मात्रै हुन सके मजदूरहरु सम्मानमा अरु धेरै गर्नुपर्ने थिएन ।