काठमाडौं । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको हो ।
नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय लिएको बताए । नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ ।
चीनले पनि भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक पटक प्रयास भएको थियो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएका बेला यो विषयमा छलफल भएको थियो । पछिल्लो पटक उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा गएका बेला यो विषयलाई टुङ्गो लगाएर आउनुभएको थियो।
उहाँले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाली पर्यटकका लागि भिसा निःशुल्क गर्न आग्रह गर्नुभएको थियो । चैत १३ गते लगानी सम्मेलनको तयारीका लागि चीनमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ पर्यटकका लागि फ्री भिसा लागू गरिएका कारण लगानी गर्न सजिलो हुने बताउनुभएको थियो ।