Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  • शुक्रवार, बैशाख १४ २०८१

  • 1.1K
    SHARES

  • आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
    काठमाडौं । सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।
     
    हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिनुभयो ।
     
    यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ ।
     
    अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् ।
     
    निर्देशक डा मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो ।
     
    दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उहाँले बताउनुभयो । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताउनुभयो । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उहाँको भनाइ छ ।
     
    हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा मरासिनीले बताउनुभयो।
     
    हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ ।
     
    महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताउनुभयो । उहाँका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ ।


    शुक्रवार, बैशाख १४ २०८१०२:४३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij