काठमाडौं । लुम्बिनी प्रदेशका ठुला शहर र राजमार्ग छेउछाउमा छाडा चौपायाको बिगबिगी छ । प्रदेशका मुख्य शहरहरू छाडा चौपाया नियन्त्रणमा सकस परिरहेका बेला बुटवलमा भने सडकमा छोडिएका गाई गोरुको व्यवस्थापनको लागि सुरु गरिएको अभियानले सार्थकता पाउँदै गएको छ ।
बुटवलमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दै गएको भन्दै मुख्य सडकमा छोडिएका गाई गोरुको व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अभियान नै सुरु गर्नुभयो । छाडा चौपायाको व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले तालिका नै बनाएर चैत महिना भर यहाँका मुख्य सडक र चोकमा रहेका गाई गोरुलाई ‘खेदेरै’ बुटवल ७ स्थित शिवनगर सामुदायिक वनमा रहेको गौशालामा पु¥याएको थियो ।
अभियान अन्तर्गत शनिबार बिहान ५ बजेदेखि चौराहा, मिलनचोक, योगीकुटी, कालिकानगर, देवीनगरका सडकमा रहेका छाडाचौपायालाई गौशालामा लगिएको थियो । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि, कर्मचारीको सहयोगमा सडकमा रहेका गाईगोरुलाई गौशालामा लगिएको हो । छाडा चौपाया व्यवस्थापन अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र सर्वसाधरण नागरिकलाई पनि सँगै लिएर उपमहानगरपालिका अघि बढेको नगरप्रमुख पाण्डेयले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग र अन्य सडकहरुको केन्द्र बुटवल भएकाले चारै तर्फबाट आएका चौपाया बुटवल र राजमार्ग केन्द्रीत हुँदा सडक दुर्घटना समेत बढेकाले छाडा चौपायाको व्यवस्थापनमा उपमहानगरपालिका जुटेको प्रमुख पाण्डेयले बताउनुभयो ।
साथै शुभकार्य वा कुनै विशेष अवसरमा गौशालामा आएर गाईगोरुलाई घाँस, पराल, दाना उपलब्ध गराउन सकिने पाण्डेयले बताउनुभयो । साथै उहाँले गाईगोरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै गाईगोरुको आहारको व्यवस्थापन गर्नको लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
गौशालामा पु¥याईएका गाई गोरुको नियमित संरक्षणका लागि उपमहानगरपालिकाले दाना र पराल एवं हेरालुको पनि व्यवस्थापन गरेको प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।
स्थानीय तहले गरेर मात्रै छाडा चौपायाको सबै समस्याको समाधान हुन नसक्ने भएकाले यसको लागि प्रदेश र संघ सरकारको पनि सहयोग चाहिने बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेय बताउनुहुन्छ ।
शिवनगर गौशालाको क्षमता ५०० सयको रहेको भएता पनि अहिले त्यहाँ ७०० भन्दा बढी गाईगोरु लगेर राखिएको र अझै यो भन्दा बढी चौपाया बाहिर नै रहेको प्रमुख पाण्डेयले बताउनुभयो ।