काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आफ्नो केन्द्रीय कार्यालयका लागि भवन खरिद गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८, बागमतीनगर, बागमती करिडोरमा साढे तीन आनाभन्दा केही बढी क्षेत्रफलमा बनेको साढे दुई तले घर लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा वैशाख १० गते रजिष्ट्रेसन पास भएको छ ।
सो घरको मूल्य २ करोड ९५ लाख र रजिष्ट्रेसन शुल्क १५ लाख ६३ हजार ५ सय गरी कुल ३ करोड १० लाख ६३ हजार ५ सय लगानी भएको समाजकी महासचिव रेणुका पौडेलले जानकारी दिनुभयो।
‘शान्ति समाज केन्द्रीय कार्यालय भवन खरिदका लागि सहयोग गर्ने १८ सय भन्दा बढी सदस्य तथा शुभचिन्तक सबैप्रति शान्ति समाज आभार व्यक्त गर्दछ’, महासचिव पौडेलद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
भवनका लागि सबैभन्दा बढी एक करोड रुपैयाँ सहयोग समाजसेवी बद्रीप्रसाद पहाडीले गर्नुभएको छ।
त्यसैगरी समाजका सभापति रामकृष्ण बरालले ९ लाख ८० हजार, निवर्तमान सभापति गोविन्द खनालले ८ लाख, पूर्व सभापति होमकान्त चौलागाईले ६ लाख र विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले ३ लाख रुपैयाँ सहयोग गर्नुभएको पनि महासचिव पौडेलले जानकारी दिनुभयो ।
भवन खरिदका लागि शान्ति समाजका १७५५ जना आजीवन सदस्यको सदस्यता शुल्क प्रत्येकबाट ५ हजारका दरले जम्मा भएको ८७ लाख ७५ हजार रुपैयाँ पनि लगानी गरिएको छ ।
वरिष्ठ मानवअधिकारकर्मी तथा नागरिक अगुवा कृष्ण पहाडीको नेतृत्वमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले नेपालमा मानव अधिकार र शान्ति स्थापनाका लागि उल्लेख्य योगदान दिँदै आएको छ।