काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ ।
‘गत शुक्रबार नै अदालतमा म्याद थप गर्नुपर्ने थियो, तर आइतबार नै मुद्दा लैजान सकिने अवस्था भएपछि त्यही अनुसारको तयारी गरेका हौं’ अख्तियार स्रोतले भन्यो, ‘आयोगबाट निर्णय भइसकेको छ । आज अपराह्नसम्म विशेष अदालतमा सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनेछ ।’
आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।