काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम आवश्यक रहेको बताउनुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको १४औं सभा बैठकमा प्रचण्डले पाठ्यक्रम पुनर्संरचना र भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभएको हो ।
विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलाप पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने र निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारको सहयोग रहनेमा विश्वास दिलाउनुभयो ।
यस्तै उहाँले क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई परिमार्जन गर्न सुझाव दिनुभएको छ ।