काठमाडौं। नेपालको राजनीतिले नैतिक धरातल गुमाइसकेपछि आजकाल हुने छिटपुट परिवर्तनमा जनताले खासै चासो दिदैनन्। जनतामात्रै होइन सत्तासाझेदार दलकै नेताहरुपनि गठबन्धनप्रति विश्वस्त रहन सकिरहेका छैनन्। पटकपटक हुने उथलपुथलको सहयात्री जनता भइसकेका छन्।
मुलुकमा विकास र समृद्धिले गति लिन्छ, समाजवाद कोरिन्छ भन्नु त दन्त्य कथाजस्तै भइसकेको छ। राजनीतिक दलका घोषणापत्र र नाराहरुलाई एकवर्षपछि मात्रै पल्टाएर हेर्ने हो भने त्यहाँ लेखिएका विषयहरुमा शून्य प्रायः प्रवेश भएको देखिन्छ।किनभने राजनीति उथलपुथलमै बितिरहेको छ।
केही समय अघिमात्रै नेकपा एमालेको शरणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि समिकरण परिवर्तन हुनसक्ने संकेत दिएको भन्दै नेपाली राजनीतिमा कोकोहोलो मच्चिएको छ। तर कांग्रेस नेता डा. प्रकाशशरण महतले भने अहिलेको अवस्थामा आफ्नो पार्टी त्यो धाउन्नेमा नरहेको दाबी गर्नुभएको छ।
सत्तासाझेदार दलका नेता एवं नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले पटकपटकको परिवर्तित समीकरणले जनता आजित भएको हुँदा आफूहरुले साथ दिएको बताउनुभयो। तलका नेता कार्यकर्तामा नभइ माथिल्लो नेतृत्वमा वैयक्तिक चरित्र हाबी हुँदा खराबी देखिएको उहाँको दाबी छ। जनतामा रहेको निराशा राजनीतिक दलहरुले चिर्न नसकेको उहाँको भनाइ छ।
सत्ता परिवर्तनैपिच्छे उठ्ने गरेको लोकप्रिय एजेण्डा भ्रष्टाचार नियन्त्रण गर्नु हो। तर, त्यो सपनामा मात्रै सिमित भएको छ। कर्मचारीको मात्रै संलग्नता करार गर्न पल्किएका राजनीतिक दलका नेताहरुका कारण उनीहरुको मनोबल कमजोर बन्दै गएको स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको भनाइ छ। राजनीतिक बेइमानीले मुलुक अस्थिर बनेको उहाँको आरोप छ।
राजनीति एकले अर्कोलाई हिलो छ्याप्ने र आफू बच्न खोज्ने दिशामा रुमलिरहेको छ। कतिपयले धमिलो पानीमा माछा मार्ने प्रयत्न गरिरहेका छन्। यहीँ दिशामा दलहरु अगाडि बढे भने मुलुक थप पश्चगमन तर्फ ढल्किने पक्का छ। आफ्नोपन बिर्सिएर आयातीत कुरामा रुमलिएकाहरुले स्वफूर्त निर्णय लिन नसक्दा जनता जहिले निराशामा बाँच्न बाध्य छन्।