काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको प्रवद्र्धनका लागि उल्लेख्य काम गरेको पाइएको छ । नेपाली रेडियो नेटवर्कको पालिका वहसमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले गाउँपालिकामा उत्पादन भएका सबै रैथाने बालीका लागि गाउँपालिकाले जिम्मा लिने गरेको जानकारी दिनुभयो ।
सहकारी मार्फत मलको व्यवस्था गर्न लगाइएकाले मलको समस्या समाधान भएको, रैथाने बालीको उत्पादन, ढुवानी र विक्रिका लागि सहुलियतको व्यवस्था गरिएकोले कृषकहरु पनि यस तर्फ आकर्षित भएको उहाँको भनाई छ ।
अध्यक्ष लामाका अनुसार अपाङ तथा विपन्न सहकारी संस्थाले सबै कृषकको खरिद गर्ने, सहकारीलाई प्रति किलो ४ रुपैया दिने र कृषकलाई १० रुपैया सहुलियत दिने गरिएको छ ।
गाउँपालिकामा उत्पादन भएको रैथाने बाली विक्रि वितरणमा कुनै समस्या भएको बरु माग अनुसार उपलब्ध गराउन नसकिएको अध्यक्ष लामाले बताउनु भयो । स्वास्थ्य र स्वादका लागि रैथाने उत्पादनको उपयोग गर्न खोज्नेहरु दिन प्रति दिन बढ्दै गएकाले यसको भविश्य अझ राम्रो रहेको अनुभव उहाँले सुनाउनु भयो ।
अध्यक्ष लामाले रैथाने वाली उत्पादनका लागि अहिले आफ्नो स्थानीय सरकारबाट प्रोत्साहन गरेपनि संघ र प्रदेश सरकारले भने पर्याप्त सहयोग नपाएको बताउनु भयो । उहाँले संघ र प्रदेश सरकारले रैथाने बाली प्रवद्र्धनका लागि राष्ट्रिय विषेश अभियान नै चलाउनु पर्नेमा जोड दिनुभयो ।