काठमाडौं। प्रहरीले होलीको दिन ललितपुरमा दुईजना युवाको हत्या भएको घटनाका आरोपी सार्वजनिक गरेको छ। आज जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा भएको उक्त घटनामा संलग्न रहेका ४ जनालाई सार्वजनिक गरेको हो ।
गत आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो।
प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राईकासाथै भोजपुर ट्याम्केमयुङ –२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएका चारजना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् । घटनाको अनुसन्धानका लागि थप अरु ८ व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।