काठमाडौं । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीको अगुवायीमा गुल्मीको माझी बस्तीहरुमा आजदेखि नै दशैको शुभकामना आदान प्रदान तथा सहयोग सामग्री हस्तान्तरण कार्यक्रम हुन थालेको छ ।
अघिल्ला बर्षहरुमा नेता भण्डारीले टिका लगाइदिदै दक्षिणासँगै कपडा, शैक्षिक सामग्रीलगायतका उपहार दिने गर्नु भएको थियो ।
यस बर्ष भने कोरोनाका कारण सामाजिक दुरी कायम राखेर सहयोग वितरण कार्यक्रम हुने, तर टिका लगाइदिने कार्यक्रम भने नहुने डा. भण्डारीले जानकारी दिनुभयो ।
आज नवमीका दिन गुल्मीको वुवाकोट ढेब्दी, रुपाकोट, बालविकास केन्द्र मजुवा, आँटीपाटा बम्घा र बम्घाकै लक्ष्मी निमाविमा दशैँको शुभकामनासँगै दक्षिणा र उपहार वितरण गर्ने र खाना खुवाउने कार्यक्रम रहेको छ ।
यही कार्यक्रम भोली दशैका दिन भने बलिथुमको विद्यालयमा त्यस क्षेत्रका स्थानीय माझी तथा बोटेसँगै गरिव समुदायका परिवारलाई आयोजना गरिने भएको भएको छ ।
गृह जिल्ला गुल्मीका विभिन्न स्थानका ६ सय बालबालिकालाई अत्यावश्यकीय सामग्री प्रदान गर्दै आउनु भएका डा. भण्डारीले उनीहरु र उनीहरुका परिवारसँग दशै मनाउनु गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “यसपालि त्यस क्षेत्रमा जान पाइन, म शोकमा छु, तर मैले दशैं नमनाउँदैमा मेरो अभियान रोकिन्न । ती विद्यार्थीको मुहारको हाँसो रोकिन्न । समिति बनाएको छु । त्यो समितिले काम गर्छ । नमूना दशैं यसपटक पनि नमूना नै हुन्छ ।’
स्थानीय समाजसेवी अनन्त पौडेलको अध्यक्षतामा गठित समितिले नै उनीहरुलाई यस बर्षको दशै मनाइदिने भएको छ ।
‘कोही त आउँदैछ दशैंमा भन्ने ती गरिब, असहायलाई पार्न सकियो भनेमात्रै पनि दशैंको सार्थकता हुने थियो । आशा जगाउने हो भने उनीहरुले पनि भोलिका दिनमा धेरै गर्न सक्नेछन्, ’ उहाँले भन्नुभयो ।
डा. भण्डारी अगाडि थप्नुहुन्छ, ‘हरेक सक्नेले नसक्ने एक जनाको मात्र जिम्मा लिने हो भने पनि कोही भोकै पर्दैनन् र कसैको भविष्य अन्धकार हुँदैन । त्यसैले म भन्छु पैसा भएर हुन्न दिल चाहिन्छ ।’
डा. भण्डारीको यो सत्कर्ममा सत्यनारायण केबल, राजकुमार बस्नेत, निरु मल्ल लगायतले सहयोग गरिरहेका छन् । यसपटक पनि उनीहरुले समितिलाई रकम पठाइदिएको डा भण्डारीले जानकारी दिनुभयो ।
दशैंको टीका कार्यक्रम उनीहरुको परिवारमा मात्र सीमित हुन्न सिङ्गो गाउँ नै सहभागी हुन्छ । त्यहाँ कुनै जातभात वा वर्ग समूहमा विभक्त हुँदैन ।
डा भण्डारी भन्नुहुन्छ, ‘दशैं तिहार जस्ता चाडपर्वले परिवारलाई अवश्य पनि खुशी दिन्छ तर त्योसँगै गाउँ समाजलाई पनि जोड्न सक्ने हो र गच्छेअनुसार अरुलाई सघाउने भावना उत्पन्न हुने हो भने दुनियाँ नै खुशी हुन्थ्यो भन्ने मेरो कामना हो ।’
उहाँले जनप्रतिनिधिहरुले नै जनतालाई अभिभावकत्व नदिएको टिप्पणी गर्दै भन्नुभयो, “मैले सुरुआत गरेको हुँ । मैले उनीहरुलाई घर बनाइदिएको छु । बोटे, माझी लगायतका आर्थिक अवस्था कमजोरभएकालाई सुरुमा गरेँ । त्यसपछि अन्य जातजाति तथा समुदायलाई पनि सहभागी गराएको छु ।’
उहाँले विगतका ६ वर्षसम्म निरन्तर ६ सय बालबालिका र उनीहरुका परिवारजनसँग दशै मनाउनु भएको थियो । तर यसपटक ५९७ जनामात्र हुने भएका छन् । उहाँले दुःख बिसाउँदै भन्नुभयो, ‘तीन विद्यार्थीको पहिरोमा परी निधन भयो, अत्यन्त दुःख लागेको छ ।’
चाडपर्व मनाउँदा आफु मात्रै नभई अरुलाई पनि खुशी बनाउनु पर्ने मान्यताका साथ आफुले गरिव बस्तीमा गएर दशै बनाउने गरेको नेता भण्डारीले बताउनुभयो ।