काठमाडौं। दाङमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर घरको आँगनमा खस्दा राप्ती गाउँपालिका–३ का एकै घरका तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर घरको आँगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। करेन्ट लागेर गम्भीर घाइते हुनुभएका गोरखको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।