काठमाडौं। बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गरिने भएको छ। भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारले आज बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले यस्तो जानकारी दिनुभएको हो। पत्रकार सम्मेलनमा नेपालीले भन्नुभयो,‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ।’
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्तिको नाममा लगिएका वा लाने प्रयत्न गरिएका राज्यको नाममा रहेको सम्पत्ति सरकार मातहत ल्याउने अभियान थालनी भैसकेको बताउनुभयो।
सोही क्रममा २०४४ साल भदौ ५ गते ६ रोपनी र २०४४ मंसिर १८ गते पुनः ४ रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको भेटिएको बताइएको छ।
