काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।काठमाडौंको कपन, बूढानीलकण्ठ र गोकर्णेश्वरको धाप, भक्तपुरको नगरकोट लगायतका ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। झरी परेपछि चिसो केही बढेको छ।
गोकर्णेश्वरको धाप क्षेत्रमा पछिल्लो २४ घन्टामा ३.० मिलिमिटर पानी परेको छ। कपन क्षेत्रमा ०.६ मिलिमिटर पानी परेको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा ०.४ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो २४ घन्टामा सिराहामा अधिक पानी परेको छ। सप्तरी र सिराहाको सीमामा पर्ने चुरेमाईमा पछिल्लो २४ घन्टामा ३० मिलिमिटर पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनकाअनुसार बागमतीको सिन्धुली, मकवानपुर जिल्ला र आसपासका ठाउँहरूमा छिटपुट वर्षा भइरहेको छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।