काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रमजीवी पत्रकारहरूले समयमा पारिश्रमिक नपाइरहेको विषय संसद्मा उठाएको छ। रास्वपा संसदीय दलका उपनेतासमेत रहेका सांसद विराजभक्त श्रेष्ठले यो विषय सदनमा उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
आइतबारको प्रतिनिधिसभाको शून्य समयमा उहाँले पत्रकारहरूले विभिन्न कालखण्डमा निर्वाह गरेका भूमिकाबारे उल्लेख गर्नुभयो। सांसद श्रेष्ठले श्रमजीवी पत्रकारहरूको समस्या हल नभए लोकतन्त्रसमेत नफस्टाउने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
‘श्रमजीवी पत्रकारहरूले अहिले समयमा पारिश्रमिक नपाएको कुरा सडकसम्म आइपुगेको छ। प्रजातन्त्रको बहाली र पुनःस्थापनामा मात्र होइन, सुशासन, पारदर्शिता र आमजनतालाई सुसूचित गर्नमा महत्वपूर्ण भूमिका खेल्दै आएका पत्रकारहरू विषम परिस्थितिबाट गुज्रिरहेका छन्’, उहाँले भन्नुभयो ‘श्रमजीवी पत्रकारहरूले झेल्दै आएका यो समस्यालई राज्यले बेलैमा हल गर्न सकेन भने देशमा लोकतन्त्र फस्टाउन सक्दैन। राष्ट्रको चौथो अंगका रुपमा रहेका पत्रकारहरूले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि होइन ? यसतर्फ सरकारको ध्यान जावस्।
पछिल्लो समय विभिन्न संचार माध्यमहरूले तीन महिनादेखि करिब सात महिनासम्म श्रमजीवी पत्रकारहरूलाई नियमित तलब नदिएको अवस्था छ।