काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी महिलाको अश्लिल भिडियो खिचेको आरोपमा प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् ।
डीएसपी केसी फागुन ६ गते पक्राउ परेका थिए । उनीविरुद्ध प्रहरीले ‘अश्लील भिडियो’ बनाएको आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीले काठमाडौं आएको बेला हलचोकस्थित एउटा रेस्टुरेन्टमा अपरिचित महिलाको भिडियो खिचेका हुन् । आफ्ना साथीहरूसँग न्यू इभान पोइन्ट रेस्टुरेन्टमा गएका उनले सोही रेष्टुरेण्टको शौचालयमा महिलाको भिडियो बनाएको पीडितको जिकिर छ ।
शौचालयको पुरुषतर्फको कोठाबाट शौच गरिरहेकी महिलाको भिडियो खिचेपछि पीडितले प्रतिवाद गरिन् । पीडित महिला पनि साथीहरूसँगै रेस्टुरेन्टमा थिइन् । डीएसपी केसीले सुरुमा भिडियो खिचेको कुरा ‘इन्कार’ गरे । तर, विवाद प्रहरीसम्म पुग्यो । फागुन ५ मा साँझ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर ‘हाजिर जमानी’मा छाडेर विवाद मिलाउन भनेको थियो । तर, पीडितले जाहेरी दिएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन । सोही कसुरमा उनीमाथि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।