काठमाडौं । इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले आफूमाथि लगाइएका आरोपबारे पत्रकार सम्मेलनमार्फत जवाफ दिएका छन् । उनले कुनै पनि कलाकारमाथि शोषण र दुर्व्यवहार नगरेको बताएका छन् ।
इन्द्रेणीबाट हटाइएका ६ जना कलाकारले आफूहरूलाई अन्यायमा पारिएको भन्दै कंडेलविरुद्ध पत्रकार सम्मेलन गरेका थिए । उनीहरूमध्ये शर्मिला श्रेष्ठले आफूमाथि कंडेलले ‘ह्यारेसमेन्ट’ गरेको आरोप पनि लगाएकी छन् । कँडेल आफ्नो कोठामा जान खोजेको तर आफूले नलगेपछि काममा पेल्न थालेको उनको आरोप छ ।
इन्द्रेणीको टीमसहित उपस्थित भएका कंडेलले आफूमाथि लागेका अधिकांश आरोप इन्कार गरे । युट्यूवका क्यामराहरूको भिडबीच उनी भावुकता र आवेशमिश्रित मनोदशामा प्रस्तुत भएका थिए । खासगरी शर्मिलाले लगाएको ‘ह्यारेसमेन्ट’ आरोपमा उनको आक्रोश थियो ।
उनले शर्मिलालाई ‘आफूले ह्यारेसमेन्ट गरेको भए अहिलेसम्म किन मौन बसेको ?’ भन्दै प्रश्न गरे ।