काठमाडौं । कपिलवस्तुमा आज भएको बस दुर्घटनामा मृत्यु भएका १० जना कै सनाखत भएको छ । शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् ।
मृतकहरुमा रौतहट औराही–३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।
यस्तै, भीमदत्त नगरपालिका–१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भाट, भीमदत्त–२ का सुदीप भट्ट र भीमदत्त–९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताउनुभयो ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेकोछ ।