काठमाडौं। सेयर बजार परिसुचक नेप्सेमा आज एकल अंकले वृद्धि भएको छ। नेप्से आज ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इन्डेक्स भने ०.३८ प्रतिशतले घट्यो।
हिजो १४.५७ अंकले बढेर २ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको नेप्से आज एकल अंकले बढेपनि कारोबार रकम भने हिजोको तुलनामा केही बढेको छ। आज ३१५ कम्पनीको ७६ लाख२४ हजार ३७६ कित्ता सेयर २ अर्ब ५९ करोड १५लाख ३४ हजार ९०७ रुपैयाँमा खरिदबिक्री भए।
साढे दुई करोड बढि मूल्यको कारोबार भएको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीय संस्थाको सेयर ९.९९ प्रतिशतले बढेको हो। हिमालयन रिइन्स्योरेन्स ३३ करोड बढि मूल्यको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।
यसदिन दुई उपसमूहबाहेक ११ उपसमूहका सूचक सकारात्मक देखिए। अदर्श र ट्रेडिङ उपसमूहबाहेक अन्य उपसमूहको सूचक बढेको हो। कारोबारमा आएका १८१ कम्पनीको मूल्य बढ्दा ५७ वटाको घट्यो भने ९ को मूल्य स्थिर रह्यो।