जिल्ला प्रहरी कार्यालय कैलालीले गत शनिबार धनगढीमा भएको प्रहरी हत्या प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमानगरपालिका –१० का २० वर्षीय रोहित राना (ख) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
गत शनिबार राती सीमा नाकामा गस्तीका क्रममा हत्या गरिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जनालाई प्रहरीले हिजो सार्वजनिक गरेको थियो ।
प्रहरीले मंगलबार धनगढी उप–महानगरपालिका १० का ७ जनालाई सार्वजनिक गरेको थियो । शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए ।
इन्चार्ज विकको शब आइतबार बिहान फेला परेको थियो भने प्रहरी जवान साउदको शव हिजो बिहान फेला परेको थियो ।