काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले पदबाटै राजीनामा दिनुभएको छ। व्यक्तिगत कारणले आफूले हिजो नै पदबाट राजीनामा दिएको चन्दले जानकारी दिनुभएको छ।
“व्यक्तिगत कारणले हिजो नै प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएको छु”उहाँले भन्नुभयो। गत माघ १२ गते विमानस्थलमा प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीबीच हातपात भएको थियो। उक्त घटना भएका दिन डीआईजी चन्दमा बिदामा हुनुहुन्थ्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी डीआईजीको नेतृत्वमा रहने गर्छ। चन्दले गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएको थियो । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार डीआईजी चन्दको राजीनामा प्रक्रिया अघि बढिसकेको छ।