काठमाडौं।रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा २ प्रहरी घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार गएराति बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का स्थानिय १२–१३ जनाको समूहले कुटपिट गरेका सूचना पाएपछी घटनास्थलमा पुगेको प्रहरीमाथी उल्टै आक्रमण भएको हो ।
आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।