काठमाडौं। मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। धरान–चतरा सडकअन्तर्गत हेटौडा उपमहानगरपालिका–६ स्थित पुतली बजारमा आज बिहान बस दुर्घटनामा परेको हो।
फुर्केचौरबाट हेटौँडातर्फ आउँदै गरेको ना. ३ ख ५३०३ नम्बरको बसले टेलरलाई साइड दिने क्रममा अचानक सडक किनारामा पल्टिँदा बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूमा हेटौँडा–१७ हटियाका वर्ष २५ की पुष्पा डंगोल, वर्ष २१ की रुपा डंगोल, हेटौँडा–१७ का वर्ष ५१ का शंकर राई र वर्ष ५५ की आशा, वीरगन्ज महानगरपालिका घर भएका वर्ष २२ की सीमा साह, हेटौँडा–१८ बस्ने बोल्न नसक्ने वर्ष ४५ की महिला र वर्ष ७० का एक पुरुष हेटौँडा अस्पतालमा उपचाररत छन्।
यस्तै मकवानपुरगढी गाउँपालिका–७ की वर्ष ५६ की माहिली माया थिङ, मकवानपुरगढी–१ धापका वर्ष ४६ का कुमार सिंह गोले र हेटौँडा–१८ हर्नामाडीका ३६ वर्षीय सोम लाल थिङ सञ्चो हस्पिटलमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।