काठमाडौं । दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। जिल्लाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुवरले आज १२ बजेतिर डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।
चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो ।
उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन पुगेका बेला चक्कु प्रहार गरिएको हो । चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजी भइरहेको छ भने घाइते प्रहरीको दार्चुलामै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू दुवै सामुदायिक प्रहरी बाङ्गाबगरमा कार्यरत हुन् ।
उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए ।