काठमाडौं। धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ।
न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले आज केही दिनअघि मेयर साम्पाङले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा गरेको तालाबन्दी खोल्न उक्त आदेश दिएको हो।
साम्पाङले तालाबन्दी गरेको भोलिपल्ट स्वास्थ्यमन्त्रीलाई पत्राचार गर्दै कार्कीलाई खोजी गरी कारबाही गर्नसमेत माग गर्नुभएको थियो।तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटउपरको सुनुवाइमा उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो।
साहले रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाउनु भएको थियो। अन्तरिम आदेशसँगै विपक्षीहरूलाई अदालतले कारण देखाऊ आदेशसमेत जारी गरेको छ।