काठमाडौं । चिसो अत्यधिक बढेपछि बाँकेको नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ।
सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ देखि ६ गतेसम्म जाडो बिदा दिएको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।
नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ। शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भएपछि विद्यालयमा बिदा दिएको थापाले बताउनुभयो ।
‘मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ’, उहाँले भन्नुभयो, ‘जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको हो।’
बाँकेमा शीतलहरसँगै कुहिरो र हुस्सुले दुई सातादेखि जनजीवन प्रभावित भएको छ।