काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसंगति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो ।
नयाँ बसपार्क गोंगबु क्षेत्रमा पछिल्लो समय हत्या तथा ज्यान सम्बन्धि कसुरको घटनामा कमि आएको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कले सार्वजनिक गरेको पाँच महिना यताको प्रगति विवरणमा कर्तव्य ज्यान सम्बन्धि कसुरको घटना शून्य रहेको बताइएको छ । आफ्नो कार्यक्षेत्र अन्तर्गतको पाँच महिना यताको सम्पुर्ण विवरणहरु सार्वजनिक गर्दै प्रहरीले विभिन्न तथ्यांक समेत सार्वजनिक गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा टोखाको एक पार्टी प्यालेसमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, विभिन्न सामाजिक संघसंस्था, महिला समूह, युवा क्लबका पदाधिकारीहरुले आगामी दिनमा प्रहरीले यसरी नै शान्ति सुरक्षाको अवस्थालाई अझ मजबुद बनाउन सुझाव दिएका थिए ।
विगतमा गोंगबु क्षेत्रमा हत्या तथा ज्यान सम्बन्धि कसुरका घटनाहरु घटेपनि पछिल्लो समय प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा थप कडाइ गरेपछि त्यस्ता घटनाहरुमा कमि आएको प्रति सरोकारवाला पक्षहरुले खुसि व्यक्त गरेका छन् । उक्त कार्यक्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियोे ।
सार्वजनिक सुनुवाइमा प्रहरी प्रभाग नयाँ बसपार्कले भदौदेखि पुससम्म गरेका कार्य प्रगति विवरण प्रस्तुत गरेको गरेको थियो । सो अवसरमा शान्ति सुरक्षा, नागरिक प्रहरी सम्बन्ध आदि विषयमा अन्तक्रिर्या समेत भएको थियोे । नागरिक प्रहरी सम्बन्ध मजबुत बनाई समाजमा अपराध न्यूनीकरणको लागि सहकार्यलाई निरन्तरता दिन उक्त कार्यक्रम आयोजना गरिएको प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।
गोंगबु क्षेत्रमा सवारीसाधन दुर्घटनाका कारण हुने मृत्युमा पनि कमि आएको छ । प्रहरी प्रभाग नयाँ बसपार्कले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २१ वटा संख्यामा सवारी दुर्घटना भएका छन् । जसमा तीन जनाको मृत्यु, पाँच जना गम्भीर घाइते ,१३ जना सामान्य घाइते भएको विवरण छ ।
गत भदौदेखि पुससम्म प्रहरी प्रभाग नयाँ बसपार्कमा मानिस हराएको जम्मा ५७ वटा निवेदन परेका थिए, जसमा प्रहरीले ४७ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाएको थियो । यस्तै यस अवधिमा ५८ वटा हराएका तथा चोरि भएका सवारीसाधनको संख्या रहेको छ । प्रहरीले ५८ मध्ये १३ वटा सवारीसाधन फेला पारि सवारी धनिलाई बुझाएको छ । यस अवधिमा ७ सय ६२ वटा निवेदन तथा उजुरी दर्ता भएकोमा ६ सय ९४ वटा फछ्र्यौट र ६६ वटा बाँकी रहेका छन् । प्रहरीले यो बीचमा १८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । यस्तै ६१ जना मानिसलाई यस बीचमा प्रहरीले उद्दार गरेको छ ।