काठमाडौं । चिकित्सकको लापरवाहीले धादिङ अस्पतालमा एक बिरामीको मृत्यु भएको छ ।
आइतबार दिउँसो स्वास्थ्य चेकजाँच गराउन धादिङ अस्पताल आइपुगेकी ज्वालामुखी गाउँपालिका–२ मैदीस्थित पँदेलीथोककी ५८ वर्षीया विद्यादेवी सिंखडाको सोमबार बिहान मृत्यु भएको हो ।
आइतबार ओपिडी सेवामा चेकजाँच गरी थप उपचारको लागि अस्पताल भर्ना भएकी सिंखडाको अस्पतालकै कमजोरीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्त र परिवारले सोमबार दिनभर अस्पतालमा घेराबन्दी गरी उपचारमा लापरबाही गर्ने कर्मचारी तथा चिकित्सकमाथि कारबाहीको माग गरेका थिए ।
अस्पताल घेराबन्दीपछि प्रशासनले पनि आफुहरुको कमजोरी भएको स्वीकार गरेको छ। दिनभर विवादित बनेको अस्पताल क्षेत्र साँझपख वार्तापछि साम्य भएको थियो ।
मृतकका परिवार र अस्पताल प्रशासनबीच तीन बुँदे सहमति भएपछि आफन्तले शव उठाएर दाहसंस्कार गरिसकेका छन् । मृत्यु भएकी सिंखडाको नाममा अस्पतालको सिटिस्क्यान भवनको नाम राख्न व्यवस्थापन पक्ष सहमत भएपछि शव उठेको हो ।
पीडित पक्षको माग बमोजिम अस्पताल व्यवस्थापन, पूर्व संघीय सांसद रामनाथ अधिकारीको उपस्थिीतीमा पीडित पक्ष र चिकित्सक समेतको सहभागितामा वार्ता भएको थियो ।
सहमति अनुसार अस्पतालमा हाल निर्माण हुने चरणमा रहेको सिटिस्क्यान भवनको नाम विद्यादेवी सिंखडा स्मृति भवन नामाकरण गर्ने, सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको संयोजकत्वमा ज्वालामुखीका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुरेन्द्र प्रसाद भट्ट, नीलकण्ठ नगरपालिका र धादिङ स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी विष्णुमाया रिजाल र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ रहेको छानबिन समिति गठन गर्दै २१ दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमति भएको धादिङ अस्पतालका सूचना अधिकारी डा. रामचन्द्र रिजालले जानकारी दिनुभयो ।
यस्तै छानबिन समितिले प्रतिवेदन बुझाएपछि दोषी देखिएका कर्मचारीलाई कारबाहीको लागि सिफारिस गर्ने पनि सहमति भएको छ ।