काठमाडौं । महोत्तरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएको दुई मोटरसाइकल चालकले एक–अर्कालाई नदेख्दा आपसमा ठोक्किएर महोत्तरीको औरहीमा दुर्घटना भएको हो ।
बर्दिबास–जलेश्वर सडक खन्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।
औरही नगरपालिका–१ वडा कार्यालय नजिक गएराति ९ बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो। दुवै चालक हुन् ।
दुर्घटनामा परेर घाइते हुनेमा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव रहेका छन् ।