काठमाडौं । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा मृत्यु भएको युवकको पहिचान खुलेको छ । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् ।
उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् ।
तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताउनुभयो ।
प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको उहाँले बताउनुभयो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन् ।