Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पछिल्लो पटक थप ७ कोरोना संक्रमितको मृत्यु

पछिल्लो पटक थप ७ कोरोना संक्रमितको मृत्यु

  • शनिवार, कार्तिक १ २०७७

  • 1.1K
    SHARES

  • पछिल्लो पटक थप ७ कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । चितवनका एक जनप्रतिनिधिसहित नेपालमा पछिल्लो पठक थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनमा कोरोना संक्रमित खैरहनी नगरपालिकाका वडा नम्बर १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेसहित दुई जनाको मृत्यु भएको छ ।

    दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

    भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका ६ की ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि गत असोज २४ गते अस्पताल भर्ना गरिएकी ती महिलाको आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

    यस्तै, बीपी प्रतिष्ठान धरानमा पनि उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान– १५ का ६५ वर्षीय बृद्ध र झापा शिवसताक्षी ११ का ५६ वर्षीय पुरूष रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो । बुधबार संक्रमण पुष्टि भएपछि बिहीबार अस्पताल भर्ना भएका धरानका वृद्धलाई गएराति मृत्यु भएको श्रेष्ठले बताउनुभयो । बिहीबार नै संक्रमण पुष्टि भएका झापाको पुरूषको गएराति मृत्यु भएको हो । मृतक क्यान्सरपीडित रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

    उता, बाँकेमा पनि थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदोका १८ बर्षीया किशोरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । उनको गएराति मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनी २९ गते अस्पताल भर्ना भएकी थिइन् ।

    यस्तै नेपालगञ्ज उपमहानगरपालिका १० भृकुटीनगर का ६१ वर्षीय पुरुषको पनि गएराति उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज २५ गते अस्पताल भर्ना भएका थिए । कोरोना संक्रमित गुल्मीको रेसुंगा नगरपालिका–३ की ५८ वर्षीया एक महिलाको पनि बुटवलमा मृत्यु भएको छ ।

    स्वास्थ्यमा समस्या भई शुक्रबार गम्भीर अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको उनको कोरोना आईसीयूमा लैजाने क्रममा शुक्रबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनुभयो ।


    शनिवार, कार्तिक १ २०७७०१:२१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij