काठमाडौं। ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आज ललितपुरको बालकुमारीमा युवाहरूले प्रदर्शन गरे । सोही प्रदर्शनमा कोरिया जाने सपना बोकेका दुई जना युवकको आन्दोलनका क्रममा ज्यान गयो । ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको मृत्यु भयो ।
बालकुमारी–ग्वार्को सडक खण्डमा आन्दोलन गर्दै आएका उनीहरू र प्रहरीबिच झडप भएको थियो । त्यही क्रममा प्रहरीले हवाईफायर गर्नुका साथै अश्रुग्याँस समेत प्रहार ग¥यो । यतिमात्र नभएर आन्दोलनकारीहरूलाई तितरबितर पार्न लाठ्ठी समेत प्रहार ग¥यो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए ।
त्यसपछि उग्र बनेको प्रहरीले आन्दोलनकारीमाथि तीव्र बल प्रयोग गरेको थियो । यद्यपि मृतक दुवै जनामाथि प्रहरीको गोली लागेको यकिन हुन सकेको छैन । गोली प्रहार गरेको भएपनि उनीहरूको मृत्यु गोलीबाट नभएको प्रहरीको भनाई छ। यसबारेमा अनुसन्धान गर्ने ललितपुर प्रहरीको भनाई छ ।
गत साउन महिनामा कोरिया जानका लागि ‘सिपबिल्डिङ सेक्टर’ मा परीक्षा दिएकाहरूले अहिले खुलेको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा आवेदन दिन नमिल्ने ईपीएस कोरिया शाखाले सूचना निकाल्यो । परीक्षा दिन पाउनुपर्छ भन्दै सानो बहस सृजना भयो । जसलाई ठूलो बहसको स्थान दिइएन । वर्षाैंदेखि कोरियाको लागि तयारी गरिरहेका कुनैपनि नेपाली युवाहरूलाई यो अवसर जान दिनु स्वीकार्य हुँदैन ।
त्यही सिपबिल्डिङमा आवेदन दिएर फेल भएका केही युवाहरूले आफ्नो अवसरलाई जान नदिन पाटन उच्च अदालतमा आफूले पनि ‘म्यानुफ्याक्चरीङ सेक्टर’ तर्फ १५ हजार बढीका लागि विज्ञापनमा आवेदन दिन पाउनुपर्छ भन्दा रिट दाय गरे । जसको नतिजा पाटन अदालतमा रिट दायर गर्ने १८ जना युवकहरूको पक्षमा ग¥यो ।
निकै लामो समयपछि भारी संख्यामा खुलेको विज्ञापनमा आवेदन दिन नपाएका निराश युवाहरूको आक्रोश आज ललितपुरको बालकुमारीमा देखियो । उनीहरूले १८ जनालाई मात्र परीक्षा दिन पाइन्छ भनेर ३२ हजार जनालाई उपेक्षा गरेको भन्दै थप आन्दोलन गर्ने चेतावनी दिएका छन्
आज बालकुमारी–ग्वार्को सडक खण्डमा आन्दोलन गर्दै आएका उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडीमा आगजनीसमेत गरेका थिए । बिहानैदेखि आन्दोलन भइराखेको ठाउँमा प्रहरीले मन्त्रीलाई जान दिनु पनि सुरक्षा निकायको कमजोरी रहेको अधिकांशको भनाइ छ ।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको बताउनुभएको छ । मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको बताउनुभयो । उहाँले मानिसको ज्यान जाने र घाइते हुने कुरा अत्यन्त दुःखद रहेको भन्दै घटनाका सम्बन्धमा आफ्नो मन्त्रालयको कुनै साइनो र सम्बन्ध नरहेको बताउनुभयो ।
उक्त घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । उनीहरूलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।
घटना निकै गलत भएको बताउँदै सरकारका प्रवक्ता रेखा शर्माले आफ्ना असन्तुष्टि, विषय, शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई रहेपनि त्यसको आफ्नै तरिका हुने भन्दै अराजकतालाई प्रश्रय दिने काम कसैले गर्न नहुनेमा जोड दिनुभयो ।
रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर दुई नेपालीले ज्यानै गुमाउनुपर्ने स्थिति देख्दा जनस्तरबाट सरकारको चर्को आलोचना भईरेको छ । देश छाड्न खोज्दै गरेका युवाले संसार छाड्नुपर्ने बनाइदिएको भन्दै सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि चासो नदिएकाले यो घटना भएको अधिकांशको टिप्पणी छ ।
विभिन्न राजनीतिक दलहरूले यस घटनाप्रति दुःख व्यक्त गर्दै स्वदेशमा गरी खान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाएर गोली प्रहार गरेर हत्या गर्नु गम्भीर चिन्ताको विषय भएको बताइएका छन्।