काठमाडौं । लेनदेनको विषयलाई लिएर सिन्धुलीको कमलामाई नगरपालिका–४ मा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।
‘बाँधेर राखेकै अवस्थामा हामीले उद्दार गरेर ल्याएर सेफ होममा राखेका छौं, गाउँबाट उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेका छौं’, सिलवालले भन्नुभयो ।
प्रहरीका अनुसार, शारदाका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।
त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले शारदालाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।
तर, त्यसपछि उनको मोबाइल समेत अफ भएको थियो । सिन्धुलीका एक प्रहरी अधिकृतका अनुसार, उनले अदालतमा गएर न्यायाधीश र अरुसँग भेटेर आफ्नो कुरा राख्ने बताएकी थिइन् । त्यसपछि श्रीमान् सन्तोष समेतले अदालत परिसरबाटै आफूलाई अपहरण गरेर लगेको उनको भनाइ थियो ।