काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता डा.शेखर कोइरालाले बोलाएको बैठक बहिस्कार गर्नुभएको छ। आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाउँदै कोइरालाले बोलाएको बैठकमा नजाने निर्णय लिनुभएको हो।
बैठक बहिस्कार गरेर थापा मधेशमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ। कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति,१४ औं महाधिवेशनमा पदाधिकारीका उम्मेदवार लगायतलाई भोलीका लागी छलफलमा बोलाउनु भएको छ।
केन्द्रीय सदस्य मधु आचार्यले उक्त छलफलबारे शेखर–गगनबीच सल्लाह नभएको जानकारी बताउनु भयो। पार्टीको १४ औं महाधिवेशनमा एउटै समूहमा रहेर सभापति शेरबहादुर देउवा पक्षसँग प्रतिस्पर्धा गरेका शेखर–गगनले सार्वजनिक प्रतिक्रिया दिँदा भने आफ्नो समूह एक रहेको बताउने गर्नुभएको छ।
पार्टीको आसन्न महासमिति बैठकका विषयमा छलफल गर्न समूहको बैठक बोलाइएको शेखर पक्षको भनाइ छ।महासमिति बैठकबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले २९ मंसिरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको छ । नेता कोइरालाले त्यसअघि नै आफूपक्षका नेताहरुसँग छलफल गर्न लाग्नु भएको हो ।