काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ ।
आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् ।
देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो ।
जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो।
पशुपतिनाथ आउने भक्तजनलाई कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा रोपेका बिरुवा नभाँच्न अनुरोध गरेको छ। ढुङ्गा छापेका स्थानमा शतबीज नछर्न पनि आह्वान गरिएको छ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।