काठमाडौं । लोकतन्त्रको रक्षार्थ सुशासनको प्रत्याभूति र सद्भाव प्रवद्र्धनमा केन्द्रीत रहि मानव अधिकार तथा शान्ति समाजले ९ जिल्लामा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
यही मंसिर १६ गते कास्कीको पोखराबाट शुरु भएको अभियान अन्तर्गत मंसिर २० सम्ममा स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर, चिवतन, गोरखा र नुवाकोटमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बरालसहित स्थानीय नागरिक समाजका प्रतिनिधिहरु र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेको नागरिक संवाद कार्यक्रममा सर्वसम्मतिबाट ९ वटा नागरिक संकल्प समेत जारी भएको छ ।
ती नागरिक संकल्प र नागरिक आवाजको सार आज ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौ रामशाहपथस्थित नेपाल बार एशोसियसनको सभाकक्षमा दिउँसो १ बजे सार्वजनिक गर्न लागिएको समाजकी महासचिव रेनुका पौडेलले जानकारी दिनुभयो । यही कार्यक्रम आज देशभरी नै गर्न लागिएको पनि उहाँले बताउनु भयो ।
लोकतन्त्र रक्षा अभियान अन्तर्गत शान्ति समाजले नागरिक संवाद कार्यक्रमको पृथक स्वरुप अघि सारेको छ भने नागरिक संवाद कार्यक्रमको प्रारम्भमै मानव अधिकार तथा शान्ति समाजकै कमि कमजोरी र समाजका संस्थापक सभापति कृष्ण पहाडीकै बारेमा पनि आलोचना गर्न पाउने जानकारी गराउँदै उपस्थित सहभागिहरुलाई मन्तव्य व्यक्त गर्न आग्रह गरिएको थियो ।