काठमाडौं । नेपालमा पछिल्लो पटक थप ६ जना कोरोना संक्रमितको मृत्युु भएको छ । बुटवलमा उपचाररत एकजना संक्रमितको मृत्युु भएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभयो ।
श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै, चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको मध्यविन्दु नगरपालिका १५ का ७५ वर्षीय पुरुष छन् ।
उनको गएराति १० बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुुभयो । उनको कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी, सुनसरीको धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बस्दै आएका धरान १५ का ६२ वर्षीय पुरूषको आज बिहान मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुुभयो ।
मोरङमा थप दुुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ बाँसबारीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुुभयो । ती पुरूषलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन आइसोलेसनमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
मोरङकै सुन्दरहरैँचा नगरपालिकाकी ४९ वर्षीया कोरोना भाइरस संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार संक्रमित महिलाको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या रहेकी महिलाको आइतबार बेलुका स्वाब परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएको थियो ।
उता, पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट– २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।