Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा एक हजार ७६ सुत्केरी त्रिपालमा बस्न बाध्य

जाजरकोटमा एक हजार ७६ सुत्केरी त्रिपालमा बस्न बाध्य

  • मंगलवार, मंसिर १२ २०८०

  • 292
    SHARES

  • जाजरकोटमा एक हजार ७६ सुत्केरी त्रिपालमा बस्न बाध्य

    जाजरकोट । जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय​ तथ्याङ्कअनुसार भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ।

    जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन्। त्यसैगरी एक हजार ७६ सुत्केरी त्रिपालको सहारामा बसिरहेका छन्। एक हजार ८३२ दीर्घरोगी र ८५०अपांगता भएका व्यक्ति पनि समस्यामा छन्।

    त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ। भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ। भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ।

    पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ। यसका कारण सर्वसाधारणको उपचारमा समेत कठिनाइ भएको छ।

    विवरण अझै सङ्कलन हुँदै

    जिल्ला विपद् व्यवस्थापन समितिले मङ्सिर ७ गतेभित्र क्षतिको विवरण पठाउन पालिकालाई अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन। पालिकाले भने मङ्सिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए। छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन्।

    पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन्। दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको शर्माले बताउनुभयो ।


    मंगलवार, मंसिर १२ २०८००७:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij