काठमाडौं।उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन्। शनिबार आज उदयपुरगढी गाउँपालिका–७ मा पिकनिक गएर फर्किदैं गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस अधेरी झर्ना नजिकै दुर्घटनामा परेको हो।
दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको दुर्घटनामा परी त्रियुगा नगरपालिका–५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरी छन्।
दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ।
बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चौधरीले जानकारी दिनुभयो।