काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा स्थगित भएको छ । असोज २८ र २९ गते बस्ने तय भएको क्यानको वार्षिक साधारणसभा अर्को महिनासम्मका लागि स्थगित भएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएपछि साधारणसभामा उपस्थित हुन नसक्ने भन्दै स्थगित गरिएको हो ।
अध्यक्ष र सचिव कोरोना संक्रमणबाट पूर्ण निको नभइसकेको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएकाले साधारणसभा रोक्नुपरेको क्यानका कोषाध्यक्ष रोशनबाहादुर सिंहले जानकारी दिएका छन् । विधानअनुसार अध्यक्ष र सचिवको उपस्थिति साधारणसभामा अनिवार्य भएकाले पनि स्थगित भएको सिंहले बताए । शीर्ष पदाधिकारीहरु कोरोना संक्रमणका कारण भर्चुअल बैठकसमेत गर्न कठिन हुने भन्दै साधारण सभा स्थगित गरिएको क्यानले जनाएको छ ।
योसँगै अब क्यानको वार्षिक साधारणसभा मंसिरभित्र गरिसक्ने योजना रहेको कोषाध्यक्ष सिंहले जानकारी दिएका छन्।