काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका छन् । मंसिर ७ गते परेको हरिबोधिनी एकादशीको अवसरमा २ वटा स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै रेसुङ्गामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरेका छन् ।
एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थित रुपमा मनाउनको निम्ति कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर, गाउँपालिका भित्रका संस्था, कार्यालयहरू, मातहतका वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरूमा बिदा दिने निर्णय गरेका हुन् ।
अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्त्विक महत्वका वस्तु र स्थानहरूको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारको काम भइरहेको छ ।
रेसुङ्गा पोखरीमा नुहाएमा भुल गरेर गरेको पाप नष्ट हुने मान्यता रहिआएको छ । रेसुङ्गामा दैनिक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशीलगायतका पर्वहरूमा ठूलो मेला लाग्ने गर्दछ ।
यस वर्ष रेसुङ्गा नगरपालिकाले पर्यटकको चहलपहल बढाउन भन्दै ‘जाऔं हिंड रेसुङ्गा’ अभियान पनि सञ्चालन गरेको छ ।