काठमाडौं । नेकपा एमाले जाजरकोटका नेता डम्बरबहादुर सिंहले भूकम्प गएको दुई हप्तासम्म पनि सरकारले पीडित जनतालाई अस्थायी टहरा निर्माणका लागि राहत दिन नसकेको बताउनु भएको छ।
‘भूकम्प गएको १४ दिन बितेको छ । जाडो बढेको छ । धुलो, धुवाँ, र दुर्गन्ध फैलिएको ठाउँमा त्रिपालमुनि कति दिन बस्ने ? झाडापखाला, दम, निमोनियाका बिरामी बढेका छन् । सुत्केरी र बालबच्चाको बिजोग छ । उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उहाँले भन्न्ुभयो, मृतकको परिवारले २ लाख पनि पाएका छैनन् । अस्थायी टहरा बनाउनका ५० हजार दिने भनिएको छ । तर अहिलेसम्म कसैले पाएको छैन । भत्किएका संरचना जस्ताको तस्तै छन् । केन्द्र र प्रदेश सरकार के हेरेर बसिरहेका छन् ?’
नेता सिंहले अबको १५ दिनभित्र भूकम्पपीडित जनतालाई अस्थायी टहरामा राख्न सकिएन भने स्थिति भयावह हुने पनि बताउनु भएको छ।
सिंहले सरकारले समयमै नसोच्दा बालबालिकाहरु स्कुल जान वञ्चित भएको बताउनुभयो ।
कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका ६ वटा पालिकामा १५७ जनाले ज्यान गुमाए भने २६६ जनाभन्दा बढी घाइते भए । दुवै जिल्लामा ३४ हजार घर भत्किएका छन् ।