काठमाडौं। नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाएका छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन्। संस्कृति अध्येता प्राडा विणा पौडेलका अनुसार अष्टचिरञ्जीवीलाई आह्वान गरी दिदीबहिनी र दाजुभाईले एकअर्काको दीर्घायूको कामना गर्ने दिन भाईटीका हो।
यमराजलाई यमूनाले घरमा बोलाइ टीका ग्रहण गरेकोले पृथ्वी लोकमा पनि त्यसको सिको हुँदै गएको संस्कृति अध्येता पौडेलको भनाइ छ। उहाँले गक्ष अनुसारको चलनचल्तीमा रहेको उपहार दिई एकआपसमा सन्तुष्ट हुनु पर्वको ध्येय रहेको बताउनुभयो।
दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले दिदीबहिनी र दाजुभाईलाई सद्भावको कसीमा बाँध्ने पर्व भाईटीका रहेको बताउनुभयो । दिदीबहिनीले भाईहरुको अष्ट चिरञ्जीवीको कामना गर्ने र माला अर्पण गरी मीठामीठा परिकार खुवाउने पर्व रहेको पनि गौतमको भनाइ छ ।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाएका थिए। विसं २०३५ साल अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्ने गर्दथ्यो । विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।