Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले बालगोपालेश्वर र खञ्जनेश्वर महादेवमा टीका लगाउँदै

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले बालगोपालेश्वर र खञ्जनेश्वर महादेवमा टीका लगाउँदै

  • बुधवार, कार्तिक २९ २०८०

  • 517
    SHARES

  • दिदीबहिनी एवम् दाजुभाइ नहुनेले बालगोपालेश्वर र खञ्जनेश्वर महादेवमा टीका लगाउँदै
    काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज बुधबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।
     
    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। 
     
    दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
     
    दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौं महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो। यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ।
     
    खञ्जनेश्वर महादेवमा भक्तजन
    यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।
     
    ‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ,’ उहाँले भन्नुभयो ।
     
    विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। १२ वैशाख २०७२ सालको भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि २०७७ सालसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो। बालगोपालेश्वर मन्दिर भूकम्पपछिदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो। 
     
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाका लागि आज  बिहान १०ः५१ बजे अभिजित् मुहूर्तको समय उत्तम रहेको जनाएको छ। यद्यपि आज दिनभरि टीका लगाउन कुनै बाधा नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो।


    बुधवार, कार्तिक २९ २०८००७:०३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij