काठमाडौं । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।
दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो।
काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गर्नुभयो ।
उहाँले जथाभावी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पर्ने आग्रह गर्नुभयो । उहाँले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गर्नुभयो। उहाँले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताउनुभयो ।
उहाँले सुरक्षा प्रवन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताउनुभयो । उहाँले काठमाडौंमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नको लागि कुनै सीमित समय नतोकिएको बताउनुभयो । उहाँले प्रहरी र सुरक्षा समितिले काठमाडौंमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकी अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।