Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै, उज्यालोबाट लक्ष्मी प्रशन्न हुने मान्यता(खासखबर)

तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै, उज्यालोबाट लक्ष्मी प्रशन्न हुने मान्यता(खासखबर)

  • आइतवार, कार्तिक २६ २०८०

  • 611
    SHARES

  • तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै, उज्यालोबाट लक्ष्मी प्रशन्न हुने मान्यता(खासखबर)

    काठमाडौं। यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको थियो। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

    लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ। लक्ष्मीको पूजा गर्दा धन दौलत र आरोग्यता प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

    दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ।

    आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ। औँशी लक्ष्मीको प्रिय रात्री भएकोले झिलिमिली पार्ने चलन रहेको प्राडा गौतमले जानकारी दिनुभयो।

    आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो। संस्कृति अध्येता प्राडा विणा पौडेलका अनुसार तिहारमा पूजा गर्दा विधिविधान पूर्वक गर्ने तर सुरक्षा सम्बन्धि सचेत बन्न आवश्यक हुन्छ ।

    प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो। चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ।


    आइतवार, कार्तिक २६ २०८००८:२२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij