काठमाडौं । गोल्डस्टार शुज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ ।
किरण शुज म्यानुफ्याक्चर कम्पनीअन्तर्गतको गोल्डस्टार शुजले पीडितका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको हो ।
गत कार्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । संकटको घडीमा पीडितप्रति हार्दिकता व्यक्त गर्दै कम्पनीले विनाशकारी भूकम्पमा परेका पीडितलाई सहयोग प्रदान गरेको जनाएको छ ।
गोल्डस्टार शुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको छ ।
उक्त सहयोग हस्तान्तरणपछि कार्यकारी निर्देशक राणाले भन्नुभयो, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगको हात बढाउँदैछौं । हामी प्रभावित समुदायको कल्याणका लागि प्रतिबद्ध छौं र उहाँहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं ।’
सन् १९९० मा स्थापित किरण शुज म्यानुफ्याक्चर कम्पनीअन्तर्गतको गोल्डस्टार शुज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । मेड इन नेपाल नाराका साथ यो ब्रान्डले ग्राहकलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्दै आएको छ ।